काठमाडौं । सरकारले स्वीकृत गरेको नयाँ राष्ट्रिय युवा नीति, २०८२ अनुसार अब युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। यसअघि राष्ट्रिय युवा नीति, २०७२ मा युवाको उमेर १६ देखि ४० वर्ष तोकिएको थियो।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, नयाँ नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिने’ उल्लेख गरिएको छ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो। नयाँ नीतिअनुसार अब १८–३५ वर्ष उमेर समूहको जनसंख्या पृथक निकाल्नुपर्ने बस्नेतले बताए।
उनका अनुसार, बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ वर्षसम्म भएकाले १८ वर्षदेखि माथिको उमेरलाई युवा राखिएको हो। संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा भनेको छ भने भारतमा पनि यही उमेर समूहलाई युवा मानिन्छ।
तर, बस्नेतका अनुसार राष्ट्रिय युवा परिषद् ऐन, २०७२ संशोधन नगरिँदासम्म कानुनी रूपमा भने युवाको उमेर अझै १६ देखि ४० वर्षकै रहनेछ। “युवा नीतिअनुसार ऐन संशोधन गर्नुपर्छ,” उनले भने।
प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने व्यवस्था भए पनि यो नीति १० वर्षपछि संशोधन गरिएको हो।












