काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उत्तेजनामा आएर गरिने निर्णयले सहि ठाऊँमा नपुर्याउने बताएका छन्। यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा भएको बताउँदै उनले देश र समाज भयानक अस्थिरतामा रहेको उल्लेख गरेका छन्।
‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउँदैन’ उनले भने।
उनले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु रहेको बताए । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सपन्न गर्ने अठोट गर्न आह्वान गरे । जेन्जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे।
उनले विकसित घटनाक्रमलाई लिएर १० बुँदामार्फत सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्।
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेषण गरौं, हामीबाट भएका कमजोरीको समिक्षा गरौं । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होशियारीपूर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५. जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔं ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔं ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
१०. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।












