काठमाडौं। पाकिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ। उसले शनिबार आफ्नो अन्तिम सुपर–८ खेलमा श्रीलंकालाई ५ रनले हरायो। तर, टोली शीर्ष-४ मा स्थान बनाउन सकेन। यस नतिजासँगै न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेको छ।
क्यान्डीको पल्लेकेले क्रिकेट स्टेडियममा पाकिस्तानले सेमिफाइनलका लागि श्रीलंकालाई कम्तीमा ६५ रनको अन्तरले हराउनुपर्ने थियो। उसले २१३ रनको लक्ष्य पछ्याइरहेको श्रीलंकालाई १४७ रनमै रोक्नुपर्ने थियो। तर, श्रीलंकाली टोलीले १६औँ ओभरमै १५० रनको आँकडा पार गर्यो।
पाकिस्तानी टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनायो। जवाफी इनिङ्समा श्रीलंकाली टोली २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रनमै सीमित रह्यो। साहिबजादा फरहान प्लेयर अफ द म्याच बने।












