काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली सक्रिय छ। आज सोमबार भन्दा भोलि मंगलबार धेरै ठाउँमा वर्षाको सम्भावना छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा मधेशसहित कोशीका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभाग थोरै स्थान तथा लुम्बिनीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने देखिन्छ।
भोलि मंगलबार भने कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा असिनासहित मध्यम वर्षाको सम्भावना छ।










