काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विदेश जान चाहने नेपाली नागरिकसँग गैरकानूनी रूपमा रकम असुलेको प्रमाण फेला परेपछि अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलमै पक्राउ परेका थिए। उनी त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए। अख्तियारका अनुसार सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपियाँ बिगो माग गरिएको छ भने अर्का कर्मचारी अर्यालविरुद्ध ५ लाख रुपियाँको बिगो माग दाबी गरिएको छ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि चर्चामा आएको थियो। भट्टराईलाई एयरपोर्टमा नियुक्त गरिने निर्णयदेखि भिसासम्बन्धी गैरकानूनी असुली धमाधम चल्ने वातावरण तयार भएको आरोप त्यतिबेलादेखि उठ्दै आएको छ।
अख्तियारका अनुसार भिजिट भिसाका नाममा चलाइएको अवैध असुली समूहगत रूपमा भएको देखिएकाले अन्य संलग्न व्यक्तिहरूविरुद्ध थप अनुसन्धान जारी छ।












