ललितपुर । ललितपुरमा जारी नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा गर्न माग गरेकी छन्।
शुक्रबार बैठकको तेस्रो दिन उनले प्रस्तुत गरेको दशबुँदे सुझावमा उनले हालको राजनीतिक परिस्थितिमा दलहरूको पुनर्गठन आवश्यक रहेको बताउँदै एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन्।
‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। अहिलेको प्रमुख कार्यभार दलहरूको पुनर्गठन हो,’ तिम्सिनाले भनिन्, ‘त्यसका लागि अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जान सकिँदैन। अध्यक्षले बिदा लिएर अभिभावक बने सकारात्मक सन्देश दिनुपर्छ।’
साथै उनले भाटभटेनी समूहका सञ्चालक मीनबहादुर गुरुङको जग्गादानबारे पनि टिप्पणी गर्दै, गुरुङको सम्पत्तिलाई जेनजी आन्दोलनका क्रममा क्षति पुगेको भन्दै उक्त जग्गा फिर्ता गर्न माग गरेकी छन्।
‘मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौँ,’ उनले भनिन्।
तिम्सिना गत वर्ष त्यही विषयमा पार्टी कार्यालयका लागि गुरुङबाट जग्गादान लिने निर्णयको आलोचना गरेपछि अध्यक्ष ओलीले ६ महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेकी थिइन्।
यस्तो छ उषाकिरणले बैठकमा राखेका दशबुँदे कुरा–
१. विध्वंस, विनाश र वियोगान्तपछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसाे भए अहिले असफल भएको चाहिँ काे हाे? अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयाे। खर्बाैँकाे सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयाे। ती सबैको नैतिक जिम्मा कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीको आईजीपीलाई भागीदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड?
२. यतिखेर हामी कुन कन्स्पिरेसी (षड्यन्त्र) को कुरा गरिरहेका छौँ? कुन कुन वैदेशिक निकायहरू हुन्- नेकपा एमालेविरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौँ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ?
३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो। यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता-कस्ता अभ्यास र कस्ता ध्वंसकारी अभ्यास गर्याैँ? एकपल्ट सम्झिऊँ। नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। मास फ्रस्टेसन छ र थियो। स्वीकाराैँ।
४. एकपल्ट याे पनि सम्झिऊँ- सूर्य चिह्नमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठे? दुर्गा प्रसाईँजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायाे?
५. तिनको जिम्मेवारी कसले लिने हो? प्रसाईँलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले-कसैलाई जवाफ दिनुपर्दैन? आत्मालोचना गर्नु पर्दैन?
६. २०७९ को निर्वाचन पछाडि सक्किने कि सच्चिने भन्ने बहस चर्चामा थियो। आज अस्तिको भदाै २३/२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ। यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो। त्यसलाई अनदेखा गर्न अब सकिन्न।
७. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली।
८. देशमा बरबादी छ, काम चलाऊ सरकार छ। संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई ट्र्याक (बाटो) मा ल्याउनुछ। त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानुपर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरुले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरनेछ।
९. अन्यथा नलिनुहोला- मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग विथड्रो (फिर्ता) गर्ने निर्णय गरौँ।
१०. कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदाै २४। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिङ्गो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ। म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु।












