काठमाडौं। ४० दिनको युद्धपछि अमेरिका र इरान अन्ततः दुई हप्ताको युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखको अपीलपछि यो निर्णय गरिएको बताएका छन्।
युद्धविरामअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै स्टे«टअफ हर्मुजबाट जहाजहरूलाई सुरक्षित मार्ग नदिइए इरानको सम्पूर्ण सभ्यता नै समाप्त गरिदिने धम्की दिएका थिए। उनले महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्ने चेतावनी पनि दिएका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका रिपोर्टअनुसार पाकिस्तानको मध्यस्थता र अन्तिम समयमा चीनको हस्तक्षेपपछि यो सम्झौता सम्भव भएको हो। पाकिस्तानले २ हप्ताको युद्धविराम प्रस्ताव गरेको थियो, जसलाई इरानले स्वीकार गरेको बताइएको छ।
सम्झौताअनुसार अमेरिका र इजरायलले आफ्ना आक्रमण रोक्नेछन् भने इरानले पनि आक्रमण बन्द गर्नेछ। यस अवधिमा स्ट्रेट अफ हर्मुजबाट तेल, ग्यास तथा अन्य जहाजहरूको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ।
यो युद्धविराम लेवनान लगायत अन्य क्षेत्रहरूमा पनि लागू हुनेछ। त्यसपछि अमेरिका र इरानबीच औपचारिक वार्ता १० अप्रिलमा इस्लामावादमा मा सुरु हुने जनाइएको छ।












