काठमाडौं । भदौ २३ र २४ गते सम्पन्न जेनजी नागरिक क्रान्तिपछि देशभर पुनः स्थायित्व र समन्वयको चरणमा प्रवेश भएको सन्दर्भमा जेनजी युनाइटेडले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै युवा नेता बालेन शाहप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।
वक्तव्यमा भनिएको छ-‘जेनजी आन्दोलनको क्रममा उत्पन्न अन्योलताकाबीच प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहि दिशानिर्देश गर्ने र आन्दोलनलाई क्रान्तिमा रूपान्तरण गर्न दृढ अडान लिने युवा नेता श्री बालेन्द्र शाहलाई जेनजी युनाइटेड हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’
संगठनका केन्द्रीय संयोजक किरण बिकद्वारा जारी वक्तव्यमा बालेन शाहको भूमिकालाई ‘ऐतिहासिक र निर्णायक’ भन्दै सराहना गरिएको छ। उनका अनुसार शाहले आन्दोलनका विभिन्न चरणमा युवालाई संयम, संवाद र शान्तिपूर्ण परिवर्तनतर्फ उन्मुख गराउने नेतृत्व प्रदर्शन गरेका थिए।
युनाइटेड जेनजीले साथै भदौ २३ र २४ को जनआन्दोलनलाई नेपाली जनताको साहस र दमनविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा व्याख्या गरेको छ। वक्तव्यमा राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र सुरक्षासंस्थाहरूप्रति पनि आभार प्रकट गरिएको छ।
जेनजी युनाइटेडले अन्त्यमा सबै जेनजी समूह र नागरिकलाई ‘युनाइटेड जेनजी – नयाँ नेपाल निर्माणको हातेमालो’ अभियानमा सहभागी हुन आह्वान गरेको छ।















