काठमाडौं । नेकपा (एमाले) ले अन्तरिम सरकार गठनको कुरा मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजाने प्रयास भएको निष्कर्ष निकालेको छ।
शुक्रबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा बोल्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारको कदमले राजनीतिक सहमतिको वातावरण कमजोर बनाएको आरोप लगाए। उनले भने, “मुलुकलाई विभाजन होइन, एकताको बाटोमा लैजानुपर्छ। अहिलेको स्थिति तत्काल अन्त्य गरी सिंगो देशलाई एउटै लक्ष्यमा उभ्याउने वातावरण बनाउनु जरुरी छ।”
ज्ञवालीका अनुसार पार्टीले छिट्टै महाधिवेशन गर्ने तयारी गरेको छ, जसको माध्यमबाट अहिले उठिरहेका सबै राजनीतिक र संगठनात्मक प्रश्नको जवाफ दिनेछ। “एमालेलाई नयाँ ढंगले अघि बढाउन महाधिवेशन नै निर्णायक हुनेछ,” उनले जोड दिए।
उनका अनुसार सरकार अहिले दलहरुलाई साथ लिने होइन, निषेध र विभाजनको बाटोमा गइरहेको छ। “सरकारमा रहेका मानिसहरू हिंसाको भाषा बोल्दै छन्, नेतामाथि आक्रमणका धम्की आइरहेका छन्, यो लोकतान्त्रिक मूल्यको अपमान हो,” उनले भने।
बैठकमा हालैको ‘जेन–जी आन्दोलन’ को पृष्ठभूमि, अन्तर्य र परिणामबारे पनि सघन छलफल भएको जनाइएको छ। ज्ञवालीले भदौ २३ गते सुरु भएको सो आन्दोलन शान्तिपूर्ण र सुशासन, भ्रष्टाचार नियन्त्रणका मागमा केन्द्रित रहेको बताए।
तर उनका अनुसार, “शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरिएपछि अप्रिय घटना भयो।”
एमाले सचिवालय बैठक शनिबार पनि बस्नेछ।












