काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा संलग्न हुने कुरा असंवैधानिक भएको बताएका छन्।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले राष्ट्रपति र सभामुखबीचको भूमिका स्पष्ट अलग भएको उल्लेख गर्दै राष्ट्रपति सबै अंगका साझा अभिभावक भएको बताए।
उनले भने, “सभामुख संसदको सदस्य हो, त्यसैले राजनीतिमा रहन मिल्छ। तर राष्ट्रपति हुनासाथ सबै दलगत सम्बन्ध त्याग्नुपर्ने प्रावधान संविधानमै छ।”
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा सक्रिय भूमिका दिन नमिल्ने निष्कर्ष निकालेको थियो। पोखरेलले राष्ट्राध्यक्ष भइसकेको व्यक्तित्व कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने एमालेको धारणा दोहोर्याएका हुन्।












