काठमाडौं । नेकपा (एमाले) ले आगामी विधान महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर सचिवालय बैठक बिहीबारका लागि बोलाएको छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको मुख्य एजेन्डा भदौ २० देखि २२ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको प्रारम्भिक तयारी हो। तर, पार्टीका अन्य महत्वपूर्ण तथा संवेदनशील विषयहरू पनि छलफलमा पर्न सक्ने संकेत गरिएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा विधान संशोधन मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ। विशेषतः विधानमा प्रस्तावित ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सीमा तय गर्ने कि नगर्ने भन्ने विषयमा सचिवालय बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ। यी दुवै विषय पार्टीभित्र विवादास्पद मानिँदै आएका छन्।
साथै बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने सम्भावना पनि रहेको छ। ती बैठकहरूमा विधान संशोधन मस्यौदाका साथै राजनीतिक र सांगठानिक प्रतिवेदनहरू प्रस्तुत गरिने तयारी भइरहेको छ। तर, केही प्रतिवेदनहरू अझै तयारीको चरणमै रहेकाले बिहीबारको बैठक मुख्यतः उमेर सीमा र कार्यकालसम्बन्धी प्रावधानमै केन्द्रित हुने बताइएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले के कस्तो जिम्मेवारी दिने भन्ने विषयमा पनि आन्तरिक रूपमा छलफल चलिरहेको छ। तर सचिवालयबाटै त्यसबारे निर्णय लिइने कि पार्टीको माथिल्लो तहको बैठकमा लैजिने भन्ने विषय अझै टुंगो लागेको छैन।












