काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि वर्किङ (कामदार) भिसासहित भिजिट भिसा पनि बन्द गरेको छ। सोमबारदेखि लागू भएको निर्णयअनुसार नेपाली नागरिकका नयाँ भिसा आवेदन स्वीकृत नहुने भएका छन्।
यूएईले नेपालमा हालसालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाटका घटना र ठूलो संख्यामा कैदी भागेको घटनापछि सुरक्षा चासो बढाएको र त्यसैको कारण भिसा रोकिएको जनाइएको छ। पछिल्लो समय नेपाली नागरिकहरू सबैभन्दा बढी भिजिट भिसामा यूएई गइरहेका थिए।
दुबईस्थित विभिन्न कम्पनीहरूले नेपालीका लागि भिसा आवेदन टाइपिङ नै गर्न नपाइने अवस्था आएको र पहिले टाइप भएका भिसा समेत रद्द हुन थालेको बताएका छन्।
-
एक सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेश भएका भिसा अस्वीकृत भएको जनाएको छ।
-
एक वेयर हाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन्।
-
एक क्लिनिङ कम्पनीले पनि १२ कामदारका भिसा अस्वीकृत भएको जनाएको छ।
यूएई इमिग्रेशनले बाहिरी मुलुक (नेपाल) बाट हालिने नयाँ भिसा रोकिदिएको पुष्टि भएको छ।
यसैबीच, कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली कामदार पठाउने बाटो पनि बन्द भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० हाल कार्यान्वयन नगर्ने निर्णय भएको जनाएको हो। मन्त्रालयको निर्देशनअनुसार ई–७ भिसामा कोरिया जाने प्रक्रिया तत्काल रोकिएको हो।
हाल नेपाली श्रमिकहरू रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्र कोरिया जान सक्नेछन्।












