काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५० औँ दीक्षान्त समारोह मनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ५० औँ दीक्षान्त समारोह आयोजना गरिएको हो। समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका १२२ जना विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्तका लागि रंगशाला पुगेका विद्यार्थी र उनीहरुका अभिभावक फुटबल मैदानमा प्रवेश गरेपछि प्रहरीले उनीहरुलाई मैदानबाहिर पठाएको थियो।