काठमाडौं । अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सयहायता रोकिएको बारे जानकारी गराउँदै यस्ता सहयोग ठगी भएकोले रोकिएको बताएका हुन्।
हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर राेकिएकाे जानकारी गराएका हुन्।
यो निर्णय अर्बपति एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डिओजीइ) को सिफारिसमा आधारित छ, जसले विश्वभरि अमेरिकी सहायता पुनरावलोकन गरिरहेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो भाषणमा भने, ‘यी तथ्याङ्कहरू सुन्नुहोस्। यो सबै ठगी हो। नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर।’
उनले अन्य देशहरूलाई दिइने सहायतालाई पनि समान रूपमा आलोचना गरेका छन्। साे अवसरमा उनले भारतलाई मतदान प्रतिशत वृद्धिका लागि दिइने २ करोड १० लाख डलरको सहायता रोक्ने निर्णयको बचाउ गर्दै भने, ‘हामी भारतलाई किन यति धेरै पैसा दिइरहेका छौं? उनीहरूसँग आफ्नै धेरै पैसा छ।’












