काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू शान्ति प्रक्रिया टुंग्याउने टीआरसी विधेयक सहमतिमै टुंग्याउन एकमत भएका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू टीआरसी विधेयकमा सहमति जुटाउन एकमत भएका कानूनमन्त्री पदम गिरीले जानकारी दिए ।
संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामा सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा सहमतिका साथ अघि बढ्ने निर्णय निस्किएको उनले बताए । टीआरसी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुंग्याउने भनिएकोमा गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ता–कस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्वपीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबीच मतभेद देखिएको छ ।
बिहीबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरू सहभागी थिए ।