काठमाडौं । बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा सच्याउनुपर्ने प्रावधानका विषयमा तीन ठूला दल सम्मिलित कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएका हुन् । संयोजक लेखकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो ।
कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए । टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी तरिकाले भएका हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने उल्लेख छ।
यस्तै यौनजन्य घटनालाई पनि गम्भीर अपराधमा समेटिएको छ। अनि बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।












