काठमाडौं । मुख्य तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुंगो लगाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउन तीन पार्टीबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।
सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।