काठमाडौं । सन् २०२६ को मार्च महिनामा नेपालमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक भित्रिएका छन्। विश्व पर्यटन बजारमा अनिश्चितता बढिरहेको र विशेषगरी इरान केन्द्रित पश्चिम एसियाली युद्धका कारण अन्तर्राष्ट्रिय उडान तथा यात्रा योजनामा असर परिरहेका बेला पनि नेपालको पर्यटक आगमन तुलनात्मक रूपमा स्थिर देखिएको हो।
नेपाल पर्यटन बोर्ड ले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल आगमनमध्ये दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको हिस्सा सबैभन्दा बलियो देखिएको छ। दक्षिण एसियाली (सार्क) क्षेत्रबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो।
छिमेकी भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक नेपाल आएका छन्। त्यसपछि श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटक भित्रिएका छन्। धार्मिक, सांस्कृतिक तथा छोटो दूरीको भ्रमणका कारण दक्षिण एसियाली बजारले नेपालको पर्यटनलाई बलियो आधार दिएको देखिन्छ।
अन्य एसियाली मुलुकबाट आउने पर्यटक संख्या पनि उत्साहजनक छ। चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन्। समग्रमा अन्य एसियाली बजारबाट ३३ हजार ४३६ पर्यटक आगमन भएको छ, जुन कुल आगमनको २७.७ प्रतिशत हो।
तर, युरोप र अमेरिकाबाट आउने पर्यटक आगमन अपेक्षित दरमा बढ्न सकेको छैन। पर्यटन क्षेत्रका अधिकारीहरूका अनुसार इरान केन्द्रित पश्चिम एसियाली तनाव र त्यससँग जोडिएका हवाई रुट अस्थिरताले लामो दूरीका पर्यटकमा प्रभाव पारेको छ। युद्धका कारण कतिपय अन्तर्राष्ट्रिय उडान मार्ग फेरबदल भएका छन्, कतिपय देशले ट्राभल एडभाइजरी जारी गरेका छन्, जसले विशेषगरी युरोपेली र अमेरिकी यात्रुमा सावधानी बढाएको छ।
सन् २०२५ को मार्चमा नेपालमा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक आएका थिए भने कोभिडअघि सन् २०१९ को यही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको थियो। यस आधारमा हेर्दा हालको आगमन अझै पूर्व–कोभिड स्तरभन्दा तल भए पनि स्थायित्वतर्फ उन्मुख देखिन्छ।
मार्च–अप्रिललाई ट्रेकिङ, हिमाल आरोहण र साहसिक पर्यटनको मुख्य सिजन मानिन्छ। तर यस वर्ष मुख्य सिजनमै पश्चिम एसियाली युद्धले विश्वव्यापी यात्रा योजनामा मनोवैज्ञानिक असर पारेको पर्यटन व्यवसायीहरू बताउँछन्। विशेषगरी लामो दूरीको यात्रा गर्ने पर्यटकले गन्तव्य छनोट गर्दा सुरक्षा, उडान समय र रुट स्थिरतालाई प्राथमिकता दिन थालेका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वव्यापी द्वन्द्वका बाबजुद नेपालमा आगमन निराशाजनक नभएको बताए। उनका अनुसार भारतलगायत छिमेकी बजारबाट बढ्दो आगमन अहिलेको सबैभन्दा सकारात्मक पक्ष हो। साथै उच्च खर्च गर्ने बजारका रूपमा युरोप र अमेरिकामा पनि नेपालले आफ्नो उपस्थिति कायम राख्न अन्तर्राष्ट्रिय पर्यटन मेला र प्रवर्द्धनात्मक अभियानलाई निरन्तरता दिएको छ।
उनले पश्चिम एसियामा विकसित परिस्थिति अझ अनिश्चित बन्दै गए आगामी महिनामा विश्व पर्यटन बजारमै थप असर पर्न सक्ने भएकाले नेपालले वैकल्पिक बजार विस्तार, छिमेकी केन्द्रित रणनीति र दिगो पर्यटन योजनालाई समानान्तर रूपमा अघि बढाइरहेको बताए।












