रुपन्देही । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गरिएको छ ।
माघ २४ गते सम्पन्न निर्वाचनबाट बिजयी पदाधिकारीहरुलाई पदस्थापन गरिएको हो ।
निर्वाचन समितिका संयोजक टेकबहादुर थापाको अध्यक्षता तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जागेश्वरी देबी चौधरीको बिशिष्ट आतिथ्यमा पदस्थापना गरिएको हो ।
पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा प्रमुख खाँणले तिलोत्तमामा अबको २ वर्षभित्रमा सबैका घरमा स्वच्छ खानेपानीको धारा पुग्ने बताए । धेरै ठाउँमा गुणस्तरीय र सर्वसुलभ तरिकाले खानेपानी पुगेको र केही ठाउँमा खानेपानीको काम भइरहेकोले अबको २ वर्षमा तिलोत्तमा स्वच्छ खानेपानी पुग्ने बताए ।
उनले भूमिगत पानी निकाल्ने र भूमिमा पानी नपठाउने अथवा पुर्नभरण नगरिएकाले पानीको मात्रा घट्दै गएको विभिन्न अध्ययनले औंल्याएको बताउँदै रोक्नको लागी नगरपालिकाले कस्तो नीति बनाउनुपर्ने हो त्यसका लागि आफुहरु तयार रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं तिलोत्तमा नगरपालिका उपमेयर जागेश्वरी चौधरीले सामाजिक संस्थाले पैसा जम्मा भन्दापनि नागरिकलाई सुबिधा दिने कुरामा ध्यान दिनुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिका सरसफाइ उन्मुख नगरपालिका भएकोले खानेपानीसँगै सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष झविन्द्र भण्डारी सबैको सहयोग र सहकार्यबाट अघि बढ्ने बताए । उनले अहिले यस खानेपानीले ८ हजार २ सय घरका करिब ६० हजार भन्दा बढीलाई स्वच्छ खानेपानी उपलब्ध गराएको बताए ।
पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेल, जनमुक्तिकी नगर अध्यक्ष राधिका श्रीस पुन, रास्वपाका रुस्मत कँडेल, नेकपा सी का नगर इन्र्चाज राजु रसाइली, आनन्दवन खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष किशोर सुबेदी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुब धिताल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादीका नगर अध्यक्ष बेलप्रसाद शर्मा पौडेल र सञ्चालन निर्वाचन अधिकृत मेघदेब पन्तले गरेका थिए ।
समितिमा झविन्द्र भण्डारी अध्यक्ष, उपाध्यक्षमा चन्द्रकान्त खनाल, सचिवमा कमला ज्ञवाली र कोषाध्यक्षमा भीम पौडेल निर्वाचित भएका छन् ।
आठवटा क्षेत्रगत संयोजक राजेन्द्र घिमिरे, मानबहादुर थापा सौरभ भुसाल, गोपाल थापा दुर्गाबहादुर क्षेत्री, जनकलाल पाण्डेय, पुष्करनाथ पन्त, खिलबहादुर पौडेल निर्वाचित भएको समितिले जनाएको छ ।