काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।
तिहारको अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरे।
‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण देश हो,’ सन्देशमा भनिएको छ, ‘हामीले मनाउने विविध चाडपर्वहरूले हाम्रो सामाजिक विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्। तीमध्ये तिहार हिन्दू धर्मावलम्बीको महान् पर्व हो, जसले जातीय, भाषिक र सांस्कृतिक विविधतालाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ।’
राष्ट्रपति पौडेलका अनुसार तिहार सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्त्व बोकेको पर्व हो। उनले तिहारलाई “उज्यालो र प्रकाशको पर्व” भन्दै यसले मानवीय जीवनमा सत्य, न्याय र सामाजिक सुशासनतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरे।
‘तिहारले हाम्रो जीवनमा उज्यालो छरी निराशा हटाउने, सामाजिक प्रेम, करुणा र सहकार्यको भावनालाई सुदृढ बनाउने पर्व हो,’ राष्ट्रपतिले भनेका छन्।
तिहारलाई यमपञ्चकका रूपमा पनि चिनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु र मनुष्य (भाइटीका) को पूजा गरेर जीवनका विविध रूपप्रतिको सम्मान व्यक्त गरिन्छ। भाइटीकाको दिनमा दाजुभाइ र दिदीबहिनीबीच टीका लगाई स्नेह र आपसी सम्बन्ध सुदृढ गर्ने परम्परा रहिआएको छ।
राष्ट्रपति पौडेलले भाइटीका र म्हं पूजाजस्ता परम्पराले आत्मशुद्धि, प्रेम, स्नेह, सामाजिक एकता, धर्म, दया र करुणा अभिवृद्धि गर्नुका साथै अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिन्छ भन्ने उल्लेख गरे।












