काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बुको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
साउन ३२ मा खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति पुर्याएको थियो ।
९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति भएको थियो । फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ । यस्तै पदमार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो । यस्तै जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर पग्लिएर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ ।












