काठमाडौं । रोल्पा थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी दुई दिनसम्म सम्पर्कविहीन भएपछि बिहीबार बिहान उनीहरू गुल्मीमा रहेको जानकारी आएको छ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले बिहीबार (असार २६) बिहान ७ बजे फोन गरी आफूहरू गुल्मीमा रहेको बताएका हुन्।
‘उहाँले फोन गरेर अहिले गुल्मीमा छु भन्नुभयो, अब लिबाङ हुँदै थबाङ आउँछु भन्नुभयो’, अध्यक्ष बुढा मगरले भने, ‘त्यति भनेर उहाँले फोन राख्नुभयो, थप जानकारी उहाँ आएपछि मात्रै थाहा हुन्छ।’
यसअघि, असार २४ गते बिहान ‘कार्यालयको कामका लागि रुकुमपूर्व जाँदैछु’ भनेर गएका घर्तीमगरसहित सात जना कर्मचारी दुई दिनसम्म सम्पर्कविहीन भएपछि गाउँपालिकाले विज्ञप्ति नै जारी गर्दै खोजीको पहल थालेको थियो।
उनीहरूसँग सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञ प्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, सब–इन्जिनियर निशा आचार्य, खा.पा.स.टे शिवकुमार वली र गाडी चालक प्रदीप केसी पनि थिए।
रोल्पाको थबाङ क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने भएकाले कार्यालयको भुक्तानीका लागि आवश्यक ओटीपी कोड लिन रुकुमपूर्व जाने योजना रहेको बताइएको थियो। तर उनीहरू गुल्मी कसरी पुगे भन्ने विषयमा भने अझै प्रस्ट खुल्न सकेको छैन।













