काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा सरकारको राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो। नयाँ तथ्यांकअनुसार, यो वर्ष राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि भएको हो, जुन प्रतिशतमा हिसाब गर्दा ११.३३ प्रतिशतको वृद्धि हो।
सरकारले चालु वर्षको सुरुवातमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षापछि लक्ष्य परिमार्जन गर्दै १२ खर्ब ८६ अर्बमा झारिएको थियो। संशोधित लक्ष्यको आधारमा हेर्दा ९१.६० प्रतिशत मात्र राजस्व संकलन भएको देखिन्छ।
अर्थ मन्त्रालय अन्तर्गत राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय परिस्थितिका कारण उत्पन्न चुनौतीहरू हुँदाहुँदै पनि राजस्व संकलन उत्साहजनक भएको बताएका छन्। उनले भने, “तयारी सुरु गरिसकेका छौँ। चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ।”
यस आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। पछिल्ला वर्षहरूमा सरकारको राजस्व संकलन क्रमशः बढ्दै गएको छ। आर्थिक वर्ष २०७१/०७२ मा ४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब पुगेको थियो। त्यसपछि २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो।
त्यसैगरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको थियो।












