काठमाडौं । अन्तरिम सरकार गठनका विषयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवापुस्ताका प्रतिनिधिबीच निर्णायक छलफल हुने भएको छ। नेपाली सेनाको समन्वयमा हुने उक्त छलफलले नयाँ प्रधानमन्त्रीको नामलाई औपचारिकता दिने तयारी गरिएको छ।
जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरी टुंगो लगाइसकेका छन्। आजको छलफलले त्यसलाई आधिकारिक बनाउन सक्ने विश्वास गरिएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार बिहानदेखि नै जेनजी प्रतिनिधिसँग वार्ता गर्ने कार्यक्रम छ। उनले सो छलफलबाट देशले स्पष्ट निकास पाउने अपेक्षा व्यक्त गरे।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा १९ जनाको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि युवाहरुको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई विभिन्न तर्फबाट समर्थन जुट्दै गएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत उनको नाममा समर्थन जनाएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत समर्थन जनाएका छन्। त्यस्तै, व्यवसायी दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि आफू सकारात्मक हुने बताएका छन्।
जेनजी युवाहरुले भर्चुअल माध्यममार्फत गरेको छलफलमा पनि कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो। कार्कीले समेत जेनजी युवाहरुले अघि सारेको प्रस्ताव स्वीकार गर्दै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताइसकेकी छन्।












