काठमाडौं । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठक ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवाद चुलिएपछि स्थगित गरिएको छ। विधेयकको केही प्रावधानमा असहमति भएपछि प्रमुख दलका सांसदहरू सभामुख देवराज घिमिरेसँग भेटघाटमा जुटेपछि बैठक स्थगन गरिएको हो।
समितिमा संघीय निजामति सेवा ऐनसम्बन्धी विधेयकको छलफल चलिरहेको बेला ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा संसदमा पेश गरिएको प्रारम्भिक मस्यौदा र पारित संस्करणबीच अन्तर देखिएपछि विवाद चुलिएको हो।
‘विवाद टुंगो नलागेसम्म बैठक अघि नबढ्ने’
संसदीय स्रोतका अनुसार विषय गम्भीर र संवेदनशील भएकाले सहमति नहुन्जेल समिति बैठक नबोलाउने निर्णय गरिएको हो। मंगलबारको बैठकमा नेपाल प्रहरीसम्बन्धी विधेयक माथि पनि छलफल तय गरिएको थियो, तर विवादका कारण त्यो पनि स्थगित गरिएको छ।
सभामुखसँग छलफल
मंगलबार बिहान नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेसलगायत दलका प्रमुख नेताहरू सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। उनीहरूले ‘कुलिङ अफ पिरियड’ प्रावधानमा गरिएको हेरफेर संसदको विश्वासमाथि प्रहार भएको भन्दै छानबिनको माग गरेका थिए।
सरकारले संघीय संसदमा पेश गरेको मस्यौदामा ‘संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’ भन्ने स्पष्ट व्यवस्था थियो। तर प्रतिनिधि सभामा पारित संस्करणमा उक्त ‘अन्य कुनै नियुक्तिबाहेक’ भन्ने शब्द थपिएको भेटिएपछि आरोप–प्रत्यारोप चुलिएको हो।












