बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म भएको तालाबन्दीका कारण स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव भएको छ।
गाउँपालिका-३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टका अनुसार औषधि अभावका कारण सामान्य चोटपटक लागेका बिरामीलाई समेत उपचार गर्न समस्या भइरहेको छ। स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह विष्टले भने, सामान्य स्वास्थ्य सामग्री पनि नहुँदा सुत्केरी सेवा समेत प्रभावित भएको अवस्था आएको छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि स्वास्थ्य चौकीहरूबाट औषधि र उपकरण अभावसम्बन्धी गुनासो आइरहेको बताएका छन्। स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको भए पनि तालाबन्दीका कारण सम्झौता हुन नसक्दा खरीद प्रक्रिया अघि बढ्न नसकेको जानकारी उनले दिए।
गत असोज २४ गते जेनजी युवाहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। छलफल भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।
यो अवस्थाले गाउँपालिकामा स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा असर पुगेको देखिएको छ।












