काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतको वेबसाइट करिब डेढ महिनापछि पुन: पूर्णरुपमा सञ्चालनमा आएको छ।
अदालतको सूचना प्रविधि महाशाखाले सोमबारदेखि वेबसाइटलाई पूर्णरुपमा उपलब्ध गराएको जानकारी दिएको छ। हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’ बाट आवश्यक डाटा रिकभर गरी वेबसाइट पुन: सञ्चालनमा ल्याइएको महाशाखाले जनाएको छ।
वेबसाइट बन्द रहँदा मुद्दाको सुनुवाइमा समेत प्रभाव परेको थियो। गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले आगजनी गर्दा सर्वोच्च अदालतसहित देशभर २३ वटा अदालतमा क्षति पुगेको थियो।
सूचना प्रविधि महाशाखाले वेबसाइट सञ्चालन पुन: सुरु गरेसँगै अदालत सम्बन्धी जानकारी तथा सेवाहरू सामान्य रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।












