काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति भएको गोली प्रहारमा एक किशोरीको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा १७ वर्षीया अर्चना खातुन रहेको पुष्टि भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार घरेलु विवादकै कारण भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले अर्चनालाई गोली प्रहार गरेका थिए।
गोली लागेपछि अर्चनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मियाँ फरार भएका छन्। उनकाे खोजीका लागि सुरक्षा निकायले भारतको सुपौल क्षेत्र र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती तीव्र पारेको छ।
प्रहरीले हत्याकाे कारण र घटनाको सम्पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। स्थानीयमा त्रास फैलिएको जनाइएको छ भने प्रहरीले जनसुरक्षालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ।












