काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले हेलिकप्टर चढेर स्थलगत अवलोकन गर्दा मात्रै मधेसको खडेरी समस्या समाधान नहुने टिप्पणी गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भनिन्, ‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेसमा पानी आउँदैन, चुरेको कुरा जोडिन्छ।’
प्रधानमन्त्री ओली गत साउन ७ गते खडेरी निरीक्षणका लागि मधेश गएका थिए। श्रेष्ठले निर्वाचनमुखी सोचले मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै मधेशमा पानी, जमिन र विकासको अभावमा गम्भीर ध्यान दिनुपर्ने बताइन्। साथै, उनले सार्वजनिक जग्गामाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गर्दै, वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित केही दफा खारेज गर्नुपर्ने माग पनि राखिन्।












