काठमाडौं । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ ।
मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट सुनौलीसम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।
सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेका हुन् ।
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।












