नयाँ वर्ष, तिमी अब आउ, उज्यालो बोकेर छातीमा,
नरमाया लिएर सत्तामा, कर्मको साँचो हातमा।
घोषणा होइन, काम गर, जनताको आस्थाको शिर,
रित्तो थाल नरोऊ फेरि, आँशु नबगाओ तीर।
शान्तिको उज्यालो फिजाऊ, गाउँ टोल शहर भरि,
हातमा फूल, मनमा बल, सन्देश होस् अमर गरी।
विदेशिएकाहरू फर्कून्, माटोको माया लिएर,
स्वाभिमान बोकी हिडून्, श्रमको गाथा गीत समेर।
रोजगारी होस् गाउँघरमा, सीप र सल्लाह होस्,
कर्मठ हात देशभित्रै, रोजगारीको राह होस्।
नेता सुन, यो देश हाम्रो, केवल तिम्रो होइन है,
जनताको पसिना पुछेर, गर शासन – सेवा बनाइ।
बाँझो जमिन हरियो होस्, बीउ बनोस् आसा फेरि,
मूल्य दिइयोस् उत्पादनमा, बचाउ देशको ढेरी।
आफ्नो माटो, आफ्नै फल, आफ्नो बजार बनाइदे,
उत्पादनको गर्व बोकी, आत्मनिर्भरता ल्याइदे।
विकास किताबमा होइन, गल्ली गल्ली देखियोस्,
सडक, स्कुल, अस्पतालमा परिवर्तन लेखियोस्।
कागजमा सीमित नभएर, योजना बनो व्यवहार,
कुर्सी चढ्ने होइन, अब देश बनाउने हो सरकार।
नयाँ वर्ष, तिमी आउ, सचेत बनाऊ जनता,
नेतामा हैन, अब भरोसा जागो पुनः सत्पथमा।
सपना अब घोषणामा होइन, गहिरो सत्य बनोस्,
नयाँ वर्ष, तिमी साँचो भएर, इतिहासमा बसोस्।
सुदिप वि.क
बेसिशहर ११ लमजुङ












