काठमाडौं। पोखरास्थित जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ पनि जोडिएका छन्। तालको अतिक्रमित जग्गा हटाउने अभियान सुरु भएका बेला गुरुङले यसअघि नै २० रोपनी जग्गा लिजमा लिएको पाइएको छ। विवादित जग्गा लिजमा लिएको विषयमा उनीमाथि अहिले प्रश्न उठिरहेको छ।
तर गृहमन्त्री गुरुङले जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको दाबी गरेका छन्।
गुरुङसहित तीन जना मिलेर ुएड्भेन्चर स्पोर्ट्स नेपालु सञ्चालन गर्ने योजना अघि बढाएका थिए ।
‘जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,’ मन्त्री गुरुङले भने ।
आफूहरुलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको पनि गुरुङले बताए । ‘हामीलाई झुक्याएर, ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन,’ उनले भने ।












