काठमडौं । मन्त्रीपरिषद् विस्तारपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहसँग सम्बद्ध जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रर्दशन गरेका हुन् ।
जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरुका परिवारका सदस्यसमेत सहभागी भएका कारण नाराबाजी झनै तीव्र बनेको थियो । प्रदर्शनको क्रममा सुदन गुरुङले सम्बोधन गर्दै भने, “सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।”
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका थिए । नियुक्त भएका मन्त्रीहरु आज शपथग्रहण गर्ने तयारीमा रहेका बेला गुरुङ समूहले आक्रोश पोख्दै सडकमा उत्रिएको हो ।
गुरुङ समूहले विशेषतः गृहमन्त्रीमा कानुनी व्यवसायी तथा काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई नियुक्त गरिएकोमा आपत्ति जनाएको छ । त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरिएको छ ।
तर सुदन गुरुङ समूहको भनाइमा आफूहरुसँग कुनै सल्लाह–सम्पर्क नगरी मन्त्री छनोट गरिएको छ । एक भिडियोमा प्रदर्शनकारीहरुले भनेका छन्, “यो आन्दोलन अरु कसैले हाइज्याक गरिसकेको छ । आन्दोलन सहजकर्ता बनेको मान्छेले गृहमन्त्री किन खायो ?”
कार्की प्रधानमन्त्री बन्न सुदन गुरुङ समूहको समर्थन निर्णायक थियो । तर अहिले त्यही समूहले कार्कीलाई नै निशाना बनाउन थालेको छ । राजनीतिक विश्लेषकहरुको बुझाइमा, मन्त्री चयन प्रक्रियामा परामर्श नलिइएको कारण असन्तुष्टि चुलिएको हो ।












