काठमाडौं । काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (मंगलबार) विभिन्न राजनीतिक दलका नेताहरूसँग प्रतिनिधिसभा निर्वाचन तयारीबारे छलफल गर्ने भएकी छन् । आउँदो फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनको तयारी र व्यवस्थापनका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट हुन लागेको यो पहिलो औपचारिक छलफल हो । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि तय गरिएको छ ।
छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायतका दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । सो सरकार गठन भएपछि निर्वाचन मिति फागुन २१ गतेका लागि तय गरिएको छ ।
यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका नेताहरूसँग परामर्श बैठक गरेका थिए । तर, सरकारका तर्फबाट दलहरूसँग प्रत्यक्ष संवाद नहुँदा आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्कीले आजको छलफल आयोजना गरेकी हुन् ।












