काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल पारेर आगामी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकी छन्।
संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई सबल पार्ने लक्ष्यसहित अन्तरिम सरकार सञ्चालन गरिरहेको बताइन्।
उनले भनिन्, ‘शासकीय आकांक्षा बोकेर पदको लालसा लिएर प्रधानमन्त्री बनेको होइन। देश संकटमा रहेको बेला परिवर्तनकारी युवाको अनुरोधलाई अस्वीकार गर्न नसकी संक्रमण व्यवस्थापनका लागि जिम्मेवारी लिएकी हुँ। ६ महिनाभित्र जनप्रतिनिधिमार्फत चुन्निएको सरकारलाई सत्ता हस्तान्तरण गर्नेछु।’
प्रधानमन्त्री कार्कीले जेनजी युवाको नेतृत्वमा भएको आन्दोलनलाई देशमा व्याप्त भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्बको रूपमा व्याख्या गरिन्। उनले यो आन्दोलनलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर बुझ्नुपर्नेमा जोड दिइन्।
संविधान दिवसलाई गौरव गर्ने दिनका रूपमा स्मरण गर्दै कार्कीले संविधानमा लिखित प्रावधान मात्र नभई त्यसको मर्म, भावना र व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन्। ‘फागुन २१ को निर्वाचन स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग र अपनत्व आवश्यक छ,’ उनले जोड दिइन्।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्च पदाधिकारीको उपस्थिति रहेको थियो।












