काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न सबै नेपालीहरूलाई राष्ट्रिय संकल्पका साथ अघि बढ्न आह्वान गरेकी छन्।
तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठलगायतका पर्वका अवसरमा सोमबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेकी छन्।
सन्देशमा भनिएको छ, “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो। तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ।”
प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र स्थिर सरकार गठन र निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले दत्तचित्त भएर काम गरिरहेको बताएकी छन्। राजनीतिक संवाद र सुरक्षास्थिति सुधारका प्रयास सन्तोषजनक ढंगले अघि बढिरहेको पनि उनले उल्लेख गरेकी छन्।
सन्देशमा भनिएको छ, “२१ फागुनमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेन–जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ।”
भदौको महान् जेन–जी आन्दोलनले दिएको भरोसा र जिम्मेवारीलाई सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता व्यक्त गरिएको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीले भनेकी छन्, “यी पर्वहरू जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक हुन्। दीपावलीको उज्यालोले निराशा र अन्धकार हटाउँदै न्याय, समानता र आशाको सन्देश दिन्छ। नयाँ यात्राको यस चरणमा हामी सबैले साझा उद्देश्यका साथ अघि बढ्न जरुरी छ।”












