काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
सोलु हाइड्रोपावरले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।












