काठमाडौं । नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र प्रश्न उठेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा सचेतक घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए।
घिमिरेको उक्त भनाइप्रति सोमबार प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए। उक्त विषयमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत कुरा उठेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिलाई लिएर महामन्त्री गगन थापा, प्रकाशशरण महतलगायतका नेताहरूले आपत्ति जनाएका थिए ।
नेताहरूको आपत्तिपछि घिमिरेलाई बुढानीलकण्ठ बोलाएर बैठकमै उनको अभिव्यक्तिबारे प्रष्टीकरण सोधिएको थियो। सबैजसो पदाधिकारीहरू घिमिरेको अभिव्यक्तिप्रति रुष्ट बने पनि उपसभापति पूर्णबहादुर खड्काले भने उनलाई बचाउने कोशिस गरेका थिए।
त्यस्तै, बुढानीलकण्ठ पुगेका कांग्रेस महिला सांसदहरू ईश्वरी न्यौपाने, सीता गुरुङ लगायतले पनि सभापति देउवालाई प्रमुख सचेतकबाट आपत्तिजनक अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएका थिए।
पदाधिकारी बैठकमै घिमिरेको अभिव्यक्तिलाई लिएर नेताहरूले आपत्ति जनाएपछि बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमै उनलाई माफी माग्न लगाउने तयारी भएको छ।












