काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् ।
राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् ।
संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत तुम्बाहाङ्फेले नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य रहेकाले त्यसमा कोटा बढाउन पहल लिने बताएका हुन् ।
‘दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो । इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ । करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन् । जसका कारण ईपीएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ,’ प्रस्तावित राजदूत तुम्बाहाङ्फेले भनिन्, ‘ईपीएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु ।’
कोरियामा कार्यरत श्रमिकको स्वास्थ्यका विषयमा पनि ख्याल राख्न विभिन्न कार्यक्रम अगाडि बढाउने पनि तुम्बाहाङ्फेको भनाइ थियो ।












