काठमाडौं । बाराको सिमरा चोकमा बुधबार भएको जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको झडपको घटनामा संलग्न दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन्। दुवै जना एमालेबाट निर्वाचित हुन्।
जेनजी समूहका स्थानीय नेता सम्राट उपाध्याय (साइकुस) ले श्रेष्ठ र अन्सारीमाथि कुटपिटको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका थिए। जाहेरीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि जेनजी समूहले बिहीबार बिहानैदेखि आन्दोलन सुरु गर्दै पथलैया सडक खण्ड अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो।
झडप नेकपा एमालेको युवा संघ राष्ट्रिय जागरण कार्यक्रम विरोधमा जेनजीहरूले प्रदर्शन सुरु गरेपछि भएको हो। जेनजीहरूले कार्यक्रम हुने स्थान सिमरा विमानस्थल नजिक प्रदर्शन गर्दा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए। उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत समेत सहभागी हुने तय भएको थियो।












