काठमाडौं । नेपाल शिक्षा विधेयकमा सहमति जुटाउन आज दिउँसो १ बजे प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक बस्ने भएको छ। गत असार १६ गते बसेको बैठकमा अन्तिम सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि बैठक बोलाइएको हो।
गत बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै केही समय माग गरेका थिए। सोही कारण बैठक स्थगन गरिएको थियो। आजको बैठकमा विवादित विषयहरूमा सहमति जुटाएर विधेयक समितिबाट पारित गर्ने तयारी रहेको बताइएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरूसँगको परामर्श प्रक्रिया बाँकी रहेको भन्दै तत्काल विधेयक पारित नगर्न सुझाव दिएका थिए। उनका अनुसार हालको अवस्थामा विधेयक कांग्रेसलाई स्वीकार्य हुने छैन।
उनको धारणा र मन्त्रीको समय मागप्रति केही सांसदहरूले असन्तुष्टि जनाएका थिए। त्यसक्रममा समिति सभापति अम्मरबहादुर थापाले सहमति भइसकेका विषयहरूबाट पछि नहट्न आग्रह गर्दै, सहमतिमा अडिग रहन मन्त्रीलाई अनुरोध गरेका थिए।
शिक्षामन्त्री पन्तले भने विद्यालय शिक्षा विधेयक पास गर्न जटिल परिस्थिति रहेको भन्दै केही समय रोक्नुपर्ने बताएका थिए। उनले अहिलेसम्म सरकारले सहमति नगरी विधेयक पारित नहुने अभ्यास रहेको उल्लेख गरेका थिए।
यता, समितिका सदस्यहरूले भने असार १६ कै बैठकमा विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए। माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपाकी सुमना श्रेष्ठ लगायतका सांसदहरूले अघिल्लो सहमतिलाई आधार मानेर विधेयक अघि बढाउन माग गरेका थिए।
विवादको मुख्य विषय भनेको अस्थायी, करार र राहत शिक्षकहरूको स्थायिकीकरण प्रक्रिया हो। हालको विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति दिने व्यवस्था गरिएको छ। तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाको माग गर्दै अडान कायम राखेको छ।
शिक्षामन्त्रालयले शिक्षकहरूसँग वार्ता गरे पनि उनीहरूको माग परिवर्तन नभएको बताइएको छ। आजको बैठकबाट विवाद सुल्झिएर विधेयक अघि बढ्ने अपेक्षा गरिएको छ।












