काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेलाको शुभारम्भ गरेका हुन् । सातै प्रदेशमा आयोजना गरिने मेला शुरुमा कोशी प्रदेशको विराटनगरमा गरिएको हो ।
रोजगार मेला रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने बताइएको छ । मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, विराटनगर महानगरपालिका प्रमुखलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका छन् ।