काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से ०.०८ प्रतिशत अर्थात् २.३५ अंकले घटेर २,६५२ विन्दुमा सीमित भएको छ।
बलिया र ठूला कम्पनीको मापक मानिने सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घट्दै ४५९.२८ विन्दुमा झरेको छ। आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीका ७९ लाख ५३ हजार ७४० कित्ता सेयर किनबेच हुँदै ३ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबार भएका १३ मध्ये ९ समूह राताम्य भए। व्यापार समूह सर्वाधिक १.३६ प्रतिशतले बढ्दा बैंकिङ ०.१२, लगानी ०.२१ र म्युचुअल फन्ड समूह ०.५० प्रतिशतले उक्लिए। होटल समूह भने १.४९ प्रतिशतले घट्दै सबैभन्दा धेरै नोक्सानमा रह्यो।
नेपाल पुनर्बीमा कम्पनीको सेयरमा सबैभन्दा बढी ३० करोड ९० लाख रुपैयाँभन्दा धेरैको कारोबार भयो। त्यसपछि युनियन हाईड्रो, हिमालयन रि इन्स्योरेन्स र कालिका पावर क्रमशः ठूलो कारोबार भएका कम्पनी बने।
आज हिमस्टार उर्जा १० प्रतिशतले बढ्दै अपर सर्किटमा पुगेको एकमात्र कम्पनी रह्यो। कालिका पावर, गुराँस लघुवित्त र ग्रीन लाइफ हाईड्रो पनि उल्लेख्य रूपमा बढे।
तर, सिटी होटल्सका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरि ७.५५ प्रतिशत गुमाए। त्यस्तै, नारायणी डेभलपमेन्ट र समता घरेलु लघुवित्त पनि क्रमशः ५.८५ र ४.७४ प्रतिशतले घटे।












