काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से ३०.७६ अंकले वृद्धि भई ३,००२.०७ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धिसँगै बजारले फेरि ३ हजारको मनोवैज्ञानिक विन्दु पार गरेको हो।
आजको कारोबारमा ४ करोड १८ लाख कित्ता शेयर किनबेच हुँदा कूल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। आज १७६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ७४ कम्पनीको शेयर घटेका छन्। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।
यसदिन मुक्तिनाथ एग्रो इन्डस्ट्रीज, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सबैभन्दा धेरै कारोबार भएको कम्पनीमा हिमालयन डिष्टिलरी अगाडि देखिएको छ। कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।












