काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.०७ अंकले घटेर २,९६२.१३ बिन्दुमा कायम भएको हो।
आज ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १९ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ। सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको ९२ करोड ९७ लाख रुपैयाँको भएको छ। त्यसपछि हिमालयन डिष्टिलरीको ७६ करोड ९९ लाख र ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।
६ उपसूचकहरूमध्ये सबैमा हरियाली देखिएको छ। वाणिज्य बैंक समूह ०.२१ प्रतिशत, फाइनान्स समूह २.८३ प्रतिशत, र होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले उकालो लागेको छ।
१२२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १२८ कम्पनीका घटेका छन्। समता घरेलु लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशत कमाएका छन्। यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन्।
अर्कोतर्फ, विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.४९ प्रतिशतका दरले घाटा बेहोरेका छन्।












