काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकले उल्लेखनीय छलाङ मारेको छ। बिहीबार नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेको हो।
साता भरि सकारात्मक लयमा देखिएको नेप्से मंगलबार ३४.४६ अंक र बुधबार ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा उक्लिएको थियो। बिहीबारको उल्लेखनीय वृद्धिले लगानीकर्तामा थप उत्साह भरिएको छ।
आज कुल २४८ कम्पनीको शेयर कारोबारमा आएकोमा २३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको मूल्य घटेको छ। बजारमा रहेका सबै १३ उपसमूहको सूचक पनि हरियो देखिएको छ।
सूचक उकालो लागेसँगै ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड र थ्री स्टार पावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम पनि उल्लेखनीय रहेको छ। आज सेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको हो, जसको ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस उछालमा नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको असर देखिएको छ। नीतिअनुसार सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ, जसको सकारात्मक असर बजारमा देखिएको हो।
नेप्सेले आर्थिक वर्षको सुरुवातमै देखाएको उकालो यात्रा शेयर बजारप्रति लगानीकर्ताको आशावादलाई बल पुर्याएको छ।












