काठमाडौं । नेपाल शेयर बजारमा मंगलबार सकारात्मक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.८६ अंकले वृद्धि भएर २,७६२.५७ विन्दुमा पुगेको छ।
आज ३१७ कम्पनीका २ करोड ६५ लाख कित्ता शेयर खरिदबिक्री भएका छन्। कारोबार रकम ९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी भएको छ।
सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ, जसको ५२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको ५० करोड र राधी विद्युत कम्पनीको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सुपर मादी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतले बढेको छ। त्यस्तै राप्ती हाइड्रो, विन्ध्यावासीनी हाइड्रो र ओम मेगाश्रीका शेयरमा पनि उल्लेख्य वृद्धि भएको छ।
भगवती हाइड्रोपावरका लगानीकर्ताले भने ४.६४ प्रतिशत घाटा बेहोरेका छन्।
उपसमूहगत रूपमा पनि सबै सूचक हरियालीमा देखिएका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, र हाइड्रोपावर समूहका सूचकमा सकारात्मक सुधार आएको छ।












