काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा करिब साढे चार अंकको गिरावट आएको छ । केहीँ दिनयता लगातार सामान्य अंकले घट्दै आएको नेप्से सूचक आज थप ४.४५ अंकले घट्दै २५९५.७४ विन्दुमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२१ अंकले घट्दै ४४३.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । तथापि, अघिल्लो दिनको तुलनामा आज कारोबारमा बढोन्नती आउँदै ७ अर्ब ७८ करोड रुपियाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ०.२२ अंकले नेप्से घटेको बजारमा ५ अर्ब ९४ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।
आज विकास बैंक, हाइड्रो पावर, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
आज जम्मा ९३ कम्पनीको शेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ ।












