ललितपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नछाड्ने स्पष्ट पारेका छन्। ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनको तेस्रो दिनको समूहगत छलफलमा पोखरेलले भने, ‘जबज छाडेको भनेर गरिएको प्रचार गलत हो। ओली नेतृत्वमा पार्टीले जबजलाई अझ उन्नत बनाएर अगाडि बढाइरहेको छ।’
पोखरेलले मदन भण्डारीपछि पार्टीमा आएको अलमल ओलीको नेतृत्वमा ट्याकमा आएको उल्लेख गर्दै, ‘नेतृत्व बाहिर रहेको समयमा पनि जबजलाई अगाडि बढाउने काम भइरहेको छ।’ उनले ओलीले ‘नेपाली विशेषताको समाजवाद’को अवधारणासँगै पनि पार्टीलाई सुदृढ बनाएको बताए।
महाधिवेशनमा टोली नेताहरू नारायण खतिवडा, चूडामणि जंगली विश्वकर्मा, गुलावजंग शाह, भक्त गुरुङलगायतले ओली नेतृत्वमा पार्टी बलियो भएको र सुझावहरू राखेका छन्।
अध्यक्ष ओलीले छलफलमा उठेका प्रश्नहरूको जवाफसहित समापन मन्तव्य राखेपछि विधान महाधिवेशन आइतबार समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।












