काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र चलिरहेको नेतृत्वसम्बन्धी बहस तत्काल रोक्न निर्देशन दिएका छन्।
बुधबार पार्टीको बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले हाल नेतृत्वबारे अड्कलबाजी र सार्वजनिक बहस गर्नु अनुचित भएको स्पष्ट पारे।
“पार्टीको नेतृत्वबारे विभिन्न बहस भइरहेको सुनिरहेको छु। अहिले नै नेतृत्वबारे बहस गर्ने समय होइन,” महासचिव पोखरेलले भने, “त्यसैले यस्तो बहस बन्द गर्नूस्।”
उनले पार्टी महाधिवेशनको मिति अझै तय नभइसकेको र हाल संगठन सुदृढीकरण तथा विधान महाधिवेशनको तयारीमा जुट्नुपर्ने अवस्था रहेको भन्दै नेतृत्वबारे अड्कल काट्ने कार्यले पार्टीलाई फाइदा नपुग्ने बताए।
“महाधिवेशन आउन अझै समय बाँकी छ,” उनले भने, “त्यसपछि नेतृत्वको बहस गरौँला। अहिलेको प्राथमिकता भनेको संगठन निर्माण र एकताको सुदृढीकरण हो।”
पोखरेलको यो निर्देशन पछिल्ला दिनहरूमा एमालेभित्र नेतृत्व परिवर्तन, उत्तराधिकारी चयन र सम्भावित गुटगत धारणाहरूको चर्चाबीच आएको हो। महासचिवको स्पष्ट सन्देशलाई पार्टीभित्र नेतृत्वबारेको विवाद नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।












